काठमाडौँ । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सोसल मिडिया प्रयोग गर्न नदिने विश्वकै पहिलो कडा कानुन लागू भएसँगै बुधबार बिहानै धेरै किशोर–किशोरीहरूले आफ्नो फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब खातामा प्रवेश बन्द भएको अनुभव गरे। केहीले भने विभिन्न ‘बायपास’ उपायमार्फत प्रतिबन्ध पन्छाएर आफूहरू अझै सोसल मिडियामा स्क्रोल र पोस्ट गर्न सफल भएको बताए।
नयाँ कानुनअनुसार मेटा, टिकटक, युट्युबलगायतका प्लेटफर्महरूले १६ वर्षभन्दा कम उमेरका अस्ट्रेलियन नागरिकले खाता नखोलून् भन्ने सुनिश्चित गर्न उपयुक्त र आवश्यक कदमहरू” चाल्नैपर्ने छ। सरकारले बालबालिकालाई हानिकारक सामग्री र एल्गोरिदमबाट जोगाउन यो कदम आवश्यक रहेको बताएको छ। तर आलोचकहरू भने यस्तो पूर्ण प्रतिबन्ध व्यवहारिक र बुद्धिमानी समाधान होइन भन्दै आलोचना गरिरहेका छन्। प्रधानमन्त्री एन्टोनी अल्बानिजका अनुसार यो नीति अस्ट्रेलियाको ‘विश्व नेतृत्व’ गर्ने महत्वपूर्ण सुधारहरूमध्ये पर्नेछ।
आज म अस्ट्रेलियाको प्रधानमन्त्री भएकोमा झनै गर्व महसुस भएको दिन हो, उनले अभिभावक र अभियानकर्ताहरूसँग बसेर भने। यसअघि अमेरिका, युरोपका केही देशले बालबालिकाको सोसल मिडिया समय सीमित गर्ने केही प्रयास गरेका थिए। तर अस्ट्रेलिया नै पहिलो देश हो जसले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई अभिभावकको स्वीकृति लिएर पनि खाता खोल्न नदिने कडा नियम लागू गरेको छ। डेनमार्क, मलेसिया, सिंगापुर, ग्रीस, ब्राजिलजस्ता देशहरूले अस्ट्रेलियालाई ‘टेस्ट केस’ का रूपमा अध्ययन गरिरहेको बताइएको छ। अस्ट्रेलियन सरकार अहिले १० प्रमुख सोसल मिडिया प्लेटफर्मलाई लक्षित गर्दैछ, तर बाँकी प्लेटफर्मलाई पनि चाँडै कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ।
अनलाइन सुरक्षा नियामक जुली इन्मान ग्रान्टका अनुसार अब कम्पनीहरूले नियम उल्लंघन गरेमा अधिकतम ४९.५ मिलियन अस्ट्रेलियन डलर झन्डै ३३ मिलियन डलर सम्म जरिवाना तिर्नुपर्नेछ। उनका अनुसार बिहीबारदेखि नै नियमन कडाइका साथ लागू गरिनेछ। हामी प्रमुख १० प्लेटफर्मलाई सूचना पठाउँदैछौँ र क्रिसमसअघि नै उनीहरूले उमेर प्रतिबन्ध कसरी लागू गरिरहेका छन् भन्ने प्रारम्भिक विवरण सार्वजनिक गर्नेछौँ, उनले भनिन् अभिभावक वा बालबालिकामाथि भने कुनै कानुनी कारबाही नहुने, केवल सोसल मिडिया कम्पनी नै जिम्मेवार ठहरिने बताइएको छ।