काठमाडौँ। मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशमा बेथिति रहेकाले बेथिति हटाउँदै सिस्टममा ल्याउने र सुशासन कायम गर्ने पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपाली काङ्ग्रेस रौतहटद्वारा सोमबार गौरमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले मधेश प्रदेशमा चुनौतीको चाङ्ग रहेको बताए ।
हरेक चुनौतीलाई सामना गर्दै प्रदेशको विकासको लागि निरन्तर अगाडि बढ्ने उनले बताए । विकास निर्माणका रोकिएका योजना अगाडि बढाउने देखि लिएर मधेश प्रदेशका नागरिकलाई अनुभूति हुने गरि नयाँ योजना, नयाँ रणनिति ल्याउने बताए ।
मधेशका अधिकांश जनता कृषिमा निर्भर रहेकोले कृषिलाई मुख्य प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा वर्तमान सरकार दिन रात काम गरेर सकारात्मक प्रतिफल दिने मुख्यमन्त्री यादवले प्रतिबद्धता व्यक्त गरे ।
अहिलेको सात दलिय गठबन्धन बलियो रहेको र गठबन्धन आउने निर्वाचन सम्म एकजुट रहने उनले दाबी गरे । गठबन्धनको सरकार रहेकोले मन्त्रिपरिषद् बिस्तार मुख्यमन्त्री एक्लैले नगर्ने भएर सात दलीय गठबन्धनमा छलफल गरेर चाँडै टुङ्ग्याउने उनको भनाइ थियो ।