काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन जारी गरेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम जारी निर्देशनमा निर्वाचन प्रणालीमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै सुशासन सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
आयोगले दलहरूलाई प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा संविधानको मर्मअनुसार एकतिहाइ नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्न अनिवार्य गरेको छ ।
सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व पुर्याउने दीगो विकासको लक्ष्यलाई ध्यानमा राखी लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयन गर्न नीति अख्तियार गर्न भनिएको छ ।


