जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका छन् ।
आगामी शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो ।
गत २४ कात्तिकमा बर्दिबासको पानस होटेलमा शपथ लिएर मुख्यमन्त्री बनेका यादवले २२ दिनमै राजीनामा दिएका हुन् । सर्वोच्च अदालतले २४ घण्टा भित्र विश्वासको मत लिनु भन्ने सर्वोच्च अदालतको परमादेशपश्चात डाकिएको प्रदेश सभा बैठकमा विश्वासको मत नपाउने निश्चित भएपछि यादवले बुधबार राजीनामा घोषणा गरेका हुन् ।