काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिने तयारी गरेका छन् । विश्वासको मत नपाउने निश्चित भएपछि यादवले आज बस्ने प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेर राजीनामा दिने तयारी गरेका हुन् ।
बुधबार बिहान ८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएपनि मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित भएपछि दिउँसो २ बजे बस्नेगरी बैठक सारिएको छ । सर्वोच्चको परमादेशसँगै ७ दलीय गठबन्धनले नयाँ सरकार गठनकालागि तयारी थालिसकेको छ । यस हिसाबले मुख्यमन्त्रीको विपक्षमा मधेश प्रदेशसभाको अंकगणित छ ।
प्रदेशमा एमालेसँग २५ प्रदेशसभा सदस्य छन् जसमध्ये एक जना निलम्बित छन् । १ सय ७ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । विपक्षमा रहेको सात दलीय गठबन्धनमा कांग्रेसको २२, जसपा नेपालको १८, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादी पार्टीको ७ र नागरिक उन्मुक्ति पार्टी १ गरी दुई तिहाइ प्रदेशसभा सदस्य छन् । यस हिसाबले मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना कम देखिन्छ ।