काठमाडौँ । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार सहितको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आईतबार काठमाण्डुको राष्ट्रिय सभागृहमा आयोजित एकता कार्यक्रमबाट नयाँ पार्टीको घोषणा गरिएको हो । पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।
घोषणा कार्यक्रममा बोल्दै नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताए । उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको बताएका हुन् । उनले आजको घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्र नभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रिक, प्रगतिशीलहरू र राष्ट्रको चिन्ता गर्नेहरू एकठाउँमा आउने दिन भएको बताए ।
उनले संविधानप्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा रहेको बताउँदै संविधानमाथि पनि धेरै संकट मुर्झाएको धारणा राखे । आफ्नो पुस्ताको सबैभन्दा ठूलो चुनौती भनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनले बताए ।