काठमाडौं । नेकपा एमालेले ‘घर फर्क अभियान’ अन्तर्गत पार्टीमा फर्किएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।
पार्टीको बिहीबार बसेको सचिवालय बैठकले विगतमा एमाले छाडेर हाल फर्किएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।
एमालेमा फर्किनुभन्दा पहिले तत् अवस्थामा केन्द्रीय समितिमा रहेकाहरूलाई प्रतिनिधि बनाइने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू एमालेमा फर्किएका छन् ।
बैठकले महाधिवेशनको व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरेको छ । ११औं महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेल सचिव तय गरेको छ ।
जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव, आवास व्यवस्थापनका लागि छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव तोकिएको छ ।
खाद्य व्यवस्थापनमा लेखराज भट्टको संयोजकत्वमा सचिव भीष्म अधिकारी रहेको समिति, गोकर्ण विष्ट संयोजक र रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन समिति, रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार समिति गठन भएको छ ।
बैठकले भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेका स्वयंसेवक परिचालन समिति, पदमा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति, विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति गठन भएको जनाइएको छ ।
स्वास्थ्य समितिमा कृष्ण गोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेका छन् । विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव आर्थिक समिति बनाइएको उनले जानकारी दिए ।