काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ प्रतिनिधिसभामा डा. लेखजंग थापालाई नै उम्मेदवार कायम गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले यसअघि उपचुनावकै लागि तय भएका थापाको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो ।
रास्वपाका प्रवक्ता मनिष झाले लामो प्रक्रिया पार गरेर योग्य सावित भएका थापाको उम्मेदवारी कायम राख्ने निर्णय गरिएको जानकारी दिए । २०७९ मा रुपन्देही ३ बाट जितेका राप्रपाका दीपक बोहोराको निधनपछि सो क्षेत्रमा उपचुनाव तय भएको थियो । भदौ २३ को जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको थियो । त्यसपछि कात्तिक १७ गते रुपन्देही ३ का लागि घोषित उपचुनाव स्थगित भएको थियो ।
अमेरिकाको हार्वड पढेर आएका थापा न्युरोलोजीमा एमडी गरेका वरिष्ठ न्युरोलोजिस्ट हुन् । उनले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस पूरा गरेका थिए । उपचुनावमा रास्वपाको उम्मेदवार छानिनुअघि उनी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा थिए । २०७९ को चुनावमा नाउपाले थापालाई लुम्बिनी प्रदेशका लागि खस आर्यतर्फ समानुपातिकतर्फको बन्द सूचीमा उम्मेदवार बनाएको थियो । पाँचौँ नम्बरमा मात्रै प्राथमिकतामा राखिएको थियो । रुपन्देहीकै रैथाने थापा २०८२ वैशाखमा नाउपा छोडेर रास्वपातिर लागेका थिए ।

