काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि विश्वसनीय र अनुकूल वातावरण बनाउन सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री कार्कीले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय छलफलमा सहभागी नेताहरूले सरकारका हालका गतिविधिले निर्वाचनप्रतिको विश्वास कमजोर बनाइरहेको भन्दै स्पष्ट तयारी देखिनुपर्नेमा जोड दिए । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले कांग्रेस चुनावमा तयार रहेको भए पनि वातावरणले विश्वास दिलाउन नसकेको बताए । उनका अनुसार सरकारका गतिविधिले विश्वस्त बनाउनुभन्दा बढी अनिश्चितताको सन्देश दिएको र आवश्यक आधारभूत तयारी कमजोर देखिएको छ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पनि सरकारले निर्वाचनअनुकूल माहोल बनाउन चुकेको बताए । आन्दोलनका क्रममा लुटिएका हतियार अझै फेला नपर्नु, फरार कैदी नपकडिनुजस्ता घटनाले सुरक्षा जोखिम बढाएको भन्दै उनले शान्तिपूर्ण मतदानका लागि सरकार गम्भीर हुनुपर्ने आवश्यकता बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता गणेश पराजुलीले रास्वपा चुनावी तयारीमा जुटिसकेको बताए । तर निर्वाचन सहज र विश्वासिलो बनाउन आवश्यक सबै पूर्वाधार सरकार आफैंले सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक दलहरूको सहयोग त्यसपछि मात्रै प्रभावकारी रूपमा हुन सक्ने बताए ।