काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी पुस्ताका युवाहरूसँग गाउँतिर फर्किने र स्थानीय राजनीतिक नेतृत्व निर्माणमा सक्रिय भूमिका खेल्ने आग्रह गरेका छन्।
जेनजी २.० समूहले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले उनीहरूको माग र आवाज प्रभावकारी रूपमा कार्यान्वयन गर्न राजनीतिक सशक्तिकरणकै आवश्यकता रहेको बताएका हुन्। ज्ञापनपत्रमा उठाइएका केही माग तत्काल कार्यान्वयन गर्न सकिने भए पनि कतिपय माग सरकारी संरचना, प्रक्रिया तथा स्रोत–साधनका कारण अहिले पूरा गर्न नसकिने प्रकृतिका रहेको मन्त्री पुनले स्पष्ट पारे। ‘सबै माग पूरा गरिदिनु भनेको चुनाव लडेर सरकार चलाउने जिम्मेवारीजस्तै हो,’ उनले भने, ‘त्यसैले अब तपाईंहरू नै नेतृत्वमा आउनुपर्छ।’
उनले काठमाडौँमा मात्र बसेर भिडियो खिच्ने, क्यामरा तेर्स्याएर दबाब सिर्जना गर्ने संस्कृतिले दीर्घकालीन समाधान नआउने टिप्पणी गरे। उनले युवाहरूलाई राजधानीमा जति सक्रिय छन्, त्यसभन्दा दोब्बर सक्रियतासहित गाउँगाउँमा गएर नयाँ पुस्ताको नेतृत्व निर्माण गर्न सुझाव दिए। उनका अनुसार माग पूरा गर्न सरकारमाथि दबाब सिर्जना गर्नु लोकतान्त्रिक अधिकार भए पनि स्थायी रूपमै परिवर्तन चाहिँ नयाँ राजनीतिक शक्ति र जेनजी पुस्ताकै नेतृत्वबाट आउनेछ। ‘तिमीहरूले उठाएका मागहरू उचित छन्, केही हामीले पनि गम्भीररूपमा अध्ययन गर्दैछौँ ।
मन्त्री पुनले भने, ‘तर सधैं अरूसँग मागेर मात्र हुँदैन, एकदिन आफैं नेतृत्व गरेर देश बदल्ने दिशामा लाग्नुपर्छ।’ मन्त्री पुनले जेनजी युवाहरूलाई राजधानीको भीडभन्दा बाहिर निस्केर स्थानीय तहमा जनचेतना फैलाउन, विकास निर्माणमा सहभागी हुन र भविष्यमा आफूले चाहेको नीतिगत परिवर्तन आफैंले बनाउने वातावरण तयार गर्न पनि आग्रह गरे।