काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ५१४.३१ हेक्टर क्षेत्रफल विभिन्न ठाउँमा अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ।
निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडा क्षेत्रमा मात्रै ३७४.४२ हेक्टर भूभाग व्यक्तिहरूले ओगटेको छ। त्यस्तै, नेपाल–भारत सीमा पिल्लर नं। २८ आसपास करिब १३९.८९ हेक्टर जमिन भारतीय नागरिकले खेतीका लागि प्रयोग गर्दै आएको कार्यालयको दाबी छ।
निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवारहरू अहिले पनि कोर एरियामै बसोबास गरिरहेका छन्। सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ढक्कामा ६०४, तारापुरमा १५५ र लल्लेरीमा १३ परिवार बसोबास गर्दै आएका छन्। उनका अनुसार सीमाक्षेत्रमा भारतीय नागरिकले खेती गर्दै आएको भूभागमा पनि नेपाल पक्षको दाबी रहेको छ।
वाग्लेका अनुसार कोर एरियामा मानव बस्ती बस्दा वन्यजन्तुको आवासस्थल प्रभावित भएकाले समस्या झनै जटिल बन्दै गएको छ। यहाँ बसोबास गर्नेहरू न्यूनतम सुविधा पाउन नसक्ने र वन्यजन्तुको बासस्थानमा असर पर्ने दुवै स्थिति छ, उनले बताए। विस्थापितको समस्याको स्थायी समाधान नहुँदा कोर एरियामै अतिक्रमण बढेको निकुञ्जले जनाएको छ।
विसं २०५८ मा शुक्लाफाँटा आरक्ष विस्तारका समयमा विस्थापित भएका परिवारको मुद्दा समाधान गर्न ३३ वटा आयोग गठन भए पनि समस्या आजसम्म झन् जटिल बनेको अधिकारीहरूको भनाइ छ। सीमाक्षेत्रमा मुख्य पिल्लरबीच सब–पिल्लर नहुँदा भू–भाग विवादित बनेको र भारतीय पक्षले निरन्तर खेती गर्दै आएको निकुञ्ज कार्यालयले बताएको छ।
गत जेठमा पिल्लर नं. २८ नजिक नेपाली सेना र निकुञ्ज कार्यालयले संयुक्त सुरक्षा पोस्ट स्थापना गरेपछि सो क्षेत्रमा सेना गस्ती नियमित गरिएको जानकारी दिइयो। हाल निकुञ्ज सुरक्षामा १५ संयुक्त सुरक्षा पोस्ट तथा सेनाका ३ छुट्टै पोस्ट परिचालनमा छन्। गत एक दशकमा मात्र निकुञ्ज क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भएको तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ।