काठमाडौँ । निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ । आयोगले मंसिर ६ गतेसम्म नयाँ दल दर्ताको निवेदन दिन सकिने बनाएको हो । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो ।
यस्तै आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको बताए ।
थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिए । ती दलको सनाखत र कागजात रुजुको काम भइरहेको छ । कागजात लिएर आयोगमा पुग्नेलाई अध्ययन र सनाखत पछि प्रमाणपत्र दिनेगरी आयोगले काम गरिरहेको भट्टराईले बताए ।