काठमाडौं । रास्वपाका नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । उनले वामपन्थी धारको पार्टीमा सक्रिय बन्ने उद्देश्यका साथ पार्टी छाडेका हुन् । परियारले आजै कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएको जनाएको छ ।

उनी विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक थिए । यसअघि नै रास्वपाबाट सुमना श्रेष्ठले पनि राजीनामा दिएकी थिइन् । पछिल्लो समय रास्वपामा असन्तुष्टिका स्वरहरु बढ्दै गएका छन् । रास्वपा छाडेका परियारले नयाँ पार्टी बनाउने भएका छन् ।
शुक्रबार रास्वपाको साधारण सदस्य समेत त्यागेका परियारले नयाँ पार्टी खोल्ने बताए । “अब नयाँ पार्टी बनाउँछौँ । मानुषी यमी भट्टराई, सुदन किराँती लगायतका साथीहरू भएर पार्टी बनाउँछौँ,” उनले भने, “वक्तव्य जारीको तयारी गर्दैछौँ ।” पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी, प्रगतशील नागरिक पार्टीलगायत विकल्पमा छलफल भइरहेको उनले बताए ।