काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको वर्तमान समस्याको समाधानका लागि कांग्रेसले अग्रसर हुनै पर्ने बताएका छन्। उनले नेकपा एमालेबाट समस्या समाधान सम्भव नभएको पनि स्पष्ट पारे।
केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार बोल्दै थापाले कांग्रेस र एमालेको चरित्रबीच स्पष्ट भिन्नता रहेको बताएका छन्। उनका अनुसार भदौ २३–२४ को जेनजी आन्दोलनपछि मुलुकले मुख्य तीन विकल्पको सामना गर्नुपर्छ। थापाका अनुसार पहिलो विकल्प ध्रुवीकरण अझै बढ्ने र हिंसा फैलिने, दोस्रो विकल्प केही सामान्य टालटुल भएर अवस्था पुरानैमा फर्किने, र तेस्रो विकल्प भनेको असन्तुष्टि सम्बोधन गर्दै संविधान र प्रणालीलाई जोगाउने बाटो हो।
उनले यस तेस्रो बाटोमा जाने काम कांग्रेसले मात्रै गर्न सक्छ भनेका छन्। महामन्त्री थापाले एमालेको चरित्रले समस्या समाधान गर्न नसक्ने स्पष्ट गर्दै भने, “एमाले उत्तेजना फैलाउन सक्छ, तर अहिलेको समस्या समाधान गर्न सक्दैन। संविधानसभाको समय सम्झँदै उनले भने, “केपी ओलीले खुट्टा कमाउने होइन, दुई तिहाइ बहुमत देखाउने गर्थे। तर संविधान जारी गर्ने वास्तविक नेतृत्व कांग्रेसकै नेतृत्वमा भयो। हाम्रो चरित्र एमालेको जस्तो छैन।
थापाले कांग्रेसले राष्ट्रिय संवाद, बहुपक्षीय संवाद र सरकारसँगको सम्वादमार्फत समस्याको समाधान गर्नुपर्छ र महाधिवेशनले यसका लागि अवसर प्रदान गर्ने बताए । उनले थपे, “हाम्रो पार्टी महाधिवेशनमार्फत जनतालाई देखाउनेछ –यो फरक कांग्रेस हो। हामीले तिमीहरूको कुरा सुन्छौं, सुधार गर्छौं र नेतृत्वको भूमिका निर्वाह गर्छौं। हामी नै अहिले नेतृत्व सम्हाल्न सक्षम छौं।