काठमाडौं । दर्जनौँ वाम घटकहरू एकीकृत भएर बनेको नेपाली कम्युनिस्ट पार्टी नेतृत्व संरचना र पदाधिकारीहरूको अत्यधिक संख्याका कारण आन्तरिक व्यवस्थापनमा जटिलता बढ्दै गएको छ। चुनाव नजिकिँदै जाँदा यति ठूलो संगठनलाई कसरी सञ्चालन र समायोजन गर्ने भन्ने विषयले पार्टीभित्रै चासो बढाएको छ।
नयाँ पार्टीमा अहिले तीनजना पूर्वप्रधानमन्त्रीसहित शीर्ष तहका दिग्गज नेता छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ (संयोजक) माधवकुमार नेपाल (सह–संयोजक) र झलनाथ खनाल। त्यसपछि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र हालै समाहित भएका भीम रावलजस्ता नेताहरू उच्च तहमा रहेका छन्। पूर्वमाओवादी केन्द्र र एकीकृत समाजवादीका मात्रै ५० भन्दा बढी पदाधिकारी नयाँ पार्टीमा अटेका छन्। कृष्णबहादुर महरा, अग्नि सापकोटा, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, शक्ति बस्नेत, सुरेन्द्र कार्की, गिरीराजमणि पोखरेल लगायतका प्रभावशाली नेताहरू पार्टीमा भूमिकाको प्रतीक्षामा छन्।
उता, एकीकृत समाजवादीतर्फको २४ सदस्यीय सचिवालय र झन्डै ६ सय सदस्यीय केन्द्रीय कमिटीबाट पनि धेरैजसो अनुहार समाहित भइसकेका छन्। देशभक्त समाजवादी, जनसमाजवादी, नेकपा समाजवादी, नेकपा साम्यवादी, महासचिव चिरन पुन समूह आदि—समेत जोडिँदा केन्द्रीय कमिटीको आकार करिब १८००–२००० पुग्ने अनुमान गरिएको छ।
महाधिवेशन नहुन्जेल केन्द्रदेखि वडा तहसम्म सबै संरचना संयोजक र सह–संयोजक प्रणालीमै चलाइने सहमति छ। पार्टीमा संख्या धेरै भएकाले पद वितरण, जिम्मेवारी तोक्ने काम सहज नरहेको नेताहरू बताउँछन्। पूर्व एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार,अहिले सबै घटकको आधिकारिक ‘मर्ज’ प्रक्रिया पूरा भइसकेको छैन। पार्टीले निर्वाचन आयोगमा सानो आकारको सूची मात्र पेस गरेको भए पनि वास्तविक केन्द्रीय संरचना २ हजार नाघ्न नसक्ने अनुमान छ।
तुलाधरका अनुसार चुनावसम्म आन्तरिक असन्तुष्टि र ‘जुँगाको लडाइँ’ नआओस् भन्ने वातावरण बनाउन कठिनाइ छ। “कम्युनिस्ट पार्टीहरूको मुख्य समस्या नेतृत्व व्यवस्थापन नै हो,” उनले भने, त्यसैले शीर्ष नेताहरूले आवश्यक परे त्याग र संयम दुवै अपनाउनुपर्ने हुन्छ।” उनले जेनजी आन्दोलनपछि युवापुस्तालाई नेतृत्वमा ल्याउने कुरा जायज भए पनि भरपर्दो युवा नेतृत्व तयार हुन नसकेको पनि बताए।
पूर्वमाओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार आगामी महाधिवेशनअघि उमेर, क्षमता, क्षेत्रीय आधार र कार्यशैलीका आधारमा शीर्ष तहमा समायोजन हुनेछ।
उनका अनुसार पार्टीले विभागीय जिम्मेवारी, भूगोलका जिम्मेवारी र कार्यकारी भूमिकामार्फत सबै नेतालाई समेट्ने तयारी गरेको छ। “एकतालाई टिकाउन जतिसुकै चुनौती परे पनि पार्टी टुटेर होइन, जुटेर अघि बढ्छ,” गजुरेलले भने।