काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा डा. भीम रावल समाहित भएका छन्। बुधबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा नेकपामा रावल नेतृत्वको मातृभूमि जागरण अभियान समायोजन भएको हो। कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼ र सहसंयोजक माधवकुमार नेपालले मातृभूमि जागरण अभियानका संयोजक भीम रावललगायतका नेताहरूलाई पार्टीमा स्वागत गरेका थिए।
त्यसअघि बुधबार दुई पार्टीबीच सात बुँदे सहमति भएको थियो। सहमति अनुसार आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र महाधिवेशनको मिति तथा स्थान सचिवालयले छिट्टै निर्धारण गरिने उल्लेख रहेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए।
त्यस्तै महाधिवेशनमार्फत एकीकृत पार्टीको संरचना, नीति तथा नेतृत्वलाई संस्थागत गरिने, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता र आत्मनिर्णयको अधिकारको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको ज्वालाले बताए। त्यसैगरी समाजवाद र सामाजिक न्यायमा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको अभियानलाई संयुक्त रूपमा अघि बढाउने सहमति दुई पार्टीबीच भएको छ भने मातृभूमि जागरण अभियान अन्तर्गतका सबै तहका कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिमा समायोजन गरिने उल्लेख छ।