काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा छोडेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्तिमार्फत २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ वर्तमान परिस्थितिमा औचित्यहीन बनेको बताएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजिविकाको पक्षमा तथा भ्रष्टाचारका विरुद्ध सङ्घर्षको उद्देश्यले मोर्चा गठन गरिएको थियो। तर अपेक्षित गतिमा काम अघि बढ्न सकेन।’ जेन–जी आन्दोलनपछि नेपालको राजनीतिक परिदृश्यमा आएको व्यापक परिवर्तनका कारण नयाँ प्रकारका एकता र मोर्चाबन्दी बन्न थालेको विप्लवले उल्लेख गरेका छन् ।
‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरू नै एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन गरिसकेका छन्, त्यसैले मोर्चाको वर्तमान स्वरूपको औचित्य समाप्त भएको निष्कर्षमा पुगेका छौँ’, उनले भनेका छन् ।
