काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूले दबाव दिएरै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदीबाट बर्दिवासस्थित होटलमा शपथ लिएको स्पष्ट पारेका छन्।
मुख्यमन्त्री यादवले मंगलवार पत्रकार सम्मेलन गरेका थिए उहाँले सोही कार्यक्रममा यस्तो स्पष्ट पारेका हुन्। आफूलाई नियुक्ति पत्र दिइएको तर शपथ ग्रहण नगराई प्रदेश प्रमुख सुवेदी काठमाडौँ जान लागेको थाहा पाएपछि आफूले जसरी भए पनि शपथ ग्रहण गराउन दबाब दिएको स्विकारे।
यादवले भने, ‘उहाँ काठमाडौँ जान लाग्नुभयो, मैले उहाँलाई दबाब दिएकै हुँ। मुख्यमन्त्री नियुक्त गर्नुभयो तर शपथ नगराउने हो भने मैले र एमालेले तपाईंलाई घेर्छ भनेकै हो। तपाईंले शपथ नखुवाईकन मेरो पद सक्रिय हुनेवाला छैन‚ तपाई कता हुनुहुन्छ । त्यहीबाट शपथ गराइदिनुहोस् भनेर मैले बोलेकै हो। त्यसपछि उहाँले बर्दिवासस्थित पानस होटलमा बोलाउनुभयो। त्यही गएर मैले शपथ खाएको हो।
उनले प्रदेशमा उत्पन्न राजनीतिक अवस्था मधेश र मुलुकको लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर चुनौती भएको पनि बताए। उनले आफूलाई सहयोग गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरे। मुख्यमन्त्री यादवको नियुक्ति र शपथ विवादमा परेपछि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र यादवले प्रदेश प्रमुख सुवेदीलाई पदमुक्त गरेका छन्।
उनले लोसपा लगायत केही पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई शपथ लिन नदिने जानकारी पाए लगतै होटेलमा शपथ लिएको यादवको भनाइ छ। ठूलो दलको हैसियतमा नेकपा (एमाले) संसदीय दलका नेता यादवलाई कात्तिक २४ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुवेदीले मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।