काठमाडौ। मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन प्रधानमन्त्री सुशीला कार्कीले तीन बुँदे निर्देशन पनि दिएकी छन्। अनलाइनमा मतदाता नामावली दर्ता गर्न असहज भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री कार्कीले चासो देखाएकी छन्।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ। त्यसमा भोट हाल्ने नयाँ मतदाताले कात्तिक ३० गते सम्म आफ्नो नामावली दर्ता गराइसक्नुपर्ने छ। तर निर्वाचन आयोगको अनलाइन प्रविष्टिमा समस्या देखिएपछि प्रधानमन्त्री कार्कीले चासो देखाएर निर्वाचन आयोगलाई सहजीकरणका लागि निर्देशन दिएको उनका प्रेस संयोजक राम रावलले जानकारी दिए। त्यस्तै प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्ता प्रक्रियालाई आवश्यक सहजीकरण गरिदिन गृह मन्त्रालयलाईसमेत निर्देशन दिएकी छन्।
२१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति २०८२ कात्तिक ३० गते रहेको र मतदाता नामावली दर्ता कार्यमा जनशक्ति व्यवस्थापनका कारण दर्ता गर्न आउने सेवाग्राहीले लामो समय कुर्नु परेको, प्रि–इनरोलमेण्ट फारममा मतदान केन्द्र छनोट गर्न नसकेको, नागरिकता नम्बर प्रविष्ट गरे पनि नामावली दर्ता गर्न प्राविधिक समस्या आउने गरेको, जेनजी आन्दोलनका सहिद तथा घाइते परिवार र अशक्त व्यक्तिहरूलाई दर्ता गराउन असहज भएको जस्ता गुनासो आइरहेको अवस्था छ,’ प्रधानमन्त्रीले समस्याको पहिचान गर्दै भनेकी छन्।
निर्वाचन कार्यालयहरूमा बढिरहेको कार्यचाप अनुरूप आवश्यकता अनुसार कार्य समयरसिफ्ट बढाइ मतदाता नामावली दर्ता प्रक्रियालाई थप सहज बनाउनुका साथै यसका लागि थप कर्मचारी परिचालन गर्न आवश्यक भएमा सम्बन्धित निकायमा पत्राचार गर्न कार्कीले निर्देशन दिएकी छन्। त्यस्तै मतदाता नामावली दर्ता कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीमा रहेको तथ्यांकलाई मतदाता नामावली दर्ताका लागि प्रयोग गर्न मिल्ने गरी आवश्यक प्राविधिक एवम् कानूनी प्रक्रिया अगाडि बढाउन पनि कार्कीले भनेकी छन्। हाल सञ्चालनमा रहेको मतदाता नामावली संकलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था देखिएमा मतदाता नामावली संकलनको म्याद कात्तिक ३० लाई पुनरवलोकन गर्न पनि निर्देशन दिएकी छन्।