काठमाडौं । फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागी देशभर मतदाता नामावली संकलन तीब्र भइरहेको छ ।
मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लागेपछि निर्वाचन कार्यालयम भीड लाग्ने गरेको छ । नेपाली नागरिक भइसकेका तथा मतदानका लागि योग्य भइसकेका कोही पनि व्यक्ति मतदानको अधिकारबाट नछुटुन् भन्ने उद्देश्यका साथ नाम दर्ताको अवधि कात्तिक मसान्तसम्म रहेको छ ।
१६ वर्ष उमेर पूरा भएका र नेपाली नागरिकताको प्रमाणपत्र भएका हरेक नागरिकले आफ्नो नाम दर्ता गराउन सक्नेछन् । यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ ।
सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन् ।मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको छ ।
इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत फारम भरेपछि जुनसुकै नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र बायोमेट्रिक दिने सक्ने छन्। देशको जुनसुकै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् ।