काठमाडौं । मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
यस्तै मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । मधेश प्रदेशकी प्रदेश प्रमुखको कार्यकक्षमा पनि तोडफोड भएको छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेपछि यही कात्तिक २२ गते प्रदेश सभा बैठकमा राजीनामा घोषणा गरेका थिए ।
एमालेबाट प्रदेश प्रमुख नियुक्त सुमित्रा सुवेदी भण्डारीले आज बिहान संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दल एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । अस्वस्थ भएकाले उपचारका लागि काठमाडौं जाने भनेर बिहान झिसमिसेमै निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटलमा पुगेर यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएपछि असन्तुष्ट दलहरु विरोधमा छन् ।
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव मधेश भवन आउने सूचना पाएपछि विरोधमा रहेका दलका नेता–कार्यकर्ताहरुले उनलाई रोक्ने प्रयासमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।मुख्यमन्त्री नियुक्तिबारे पार्टीभित्र छलफल नभएको भन्दै एमालेभित्र पनि असन्तुष्टि छ ।