काठमाडौँ । २३ र २४ भाद्रमा देशव्यापी रुपमा नयाँपुस्ता, अर्थात् जेन–जी आन्दोलन भयो । केपी शर्मा ओली नेतृत्वको सरकार दुई दिनमै ढाल्न पुग्यो र यही आन्दोलनको क्रममा करिब ७६ जनाभन्दा बढीले आफ्नो ज्यान गुमाउन पर्यो ।आन्दोलनका क्रममा देशको महत्त्वपूर्ण संरचना तोडफोडसँगै आगजनी गरियो र देशकै नै राज्यविहीनजस्तै भयो । सो आन्दोलनले काठमाडौंका धेरै स्थानहरूको स्वरूप परिवर्तन गरिदिएको छ ।

आन्दोलनको प्रभावले शहरका सडक, भवन र सार्वजनिकस्थलहरू मात्र होइन, भित्ताहरू र पर्खालहरूमा समेत नयाँ सन्देशसहित राजनीतिक दलका नेताहरूप्रति आक्रोश पोखिएको देखिन्छ ।

आन्दोलनपछि काठमाडौंका मुख्य सडक पेटीहरू, सरकारी भवनहरूको बाहिरी पर्खालदेखि लिएर विभिन्न सार्वजनिक स्थानका भित्तासम्ममा आन्दोलनका नारा, भित्तेचित्र र सन्देशहरूले स्थान ओगटेका देखिन्छ ।

कतिपय ठाउँमा राजनीतिक नेताहरूविरुद्ध आक्रोश व्यक्त गर्ने शब्दहरू देखिन्छन्, भने कतै आन्दोलनका शहीदप्रति सम्मान व्यक्त गर्दै नयाँ नेपाल निर्माणको सन्देशसमेत चित्रित गरिएको छ ।



