काठमाडौँ । यस वर्षको तिहार पर्व सकिएको छ । बिहीबार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो । भाइटीका लगाएसँगै नेपालीको दोस्रो चाड तिहार पनि समाप्त भएको छ ।
तिहार पर्व सकिएपछि छठ पर्वको चहलपहल शुरू भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।छठपर्व नजिकिँदै गर्दा तराइ मधेशका पोखरी तथा नदी किनारामा सिँगार्ने काम भइरहेको छ । कतिपय पोखरीका घाटमा सरसफाइ गरिएको छ ।
तराइमा छठको छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जमा रहेको घडिअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।
वीरगञ्जको घडीअर्वा पोखरीमा दुई दशकभन्दा अगाडिदेखि छठ पर्व मनाउँदै आइरहेको छ । यस वर्ष छठ पर्वको मुख्य दिन कात्तिक १० गते कात्तिक शुक्ल षष्ठीको दिन परेको छ ।