काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बुधबारदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ। तीन दिनसम्म चल्ने बैठकमा सहभागी हुँदै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक परिस्थिति, पार्टीको भूमिका र राष्ट्रिय मुद्दाबारे सम्बोधन गरेका छन्।
अध्यक्ष ओलीले देशमा गत जेन-जी आन्दोलनपछि हाल भइरहेको घटनाक्रमलाई ‘अप्रत्याशित प्रतिक्रान्तिको संकेत’ का रूपमा व्याख्या गर्दै समयमै कदम नचालिए देश ‘प्रतिक्रान्ति र बर्बादीतिर धकेलिने’ चेतावनी दिए।
उनले भने, ‘आज देश अप्रत्याशित रूपमा एउटा प्रतिक्रान्तिको घटना घटेको छ। त्यसबाट देश प्रतिक्रान्तितिर जाँदैछ। यदि हामीले रोकेनौँ भने देश बर्बादीतिर धकेलिनेछ।’ ओलीले लोकतान्त्रिक मूल्य र सुशासन जोगाउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताउँदै थपे, ‘हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख बाटोमा देशलाई अघि लैजानुपर्छ।’
उनले एमालेमाथि हाल भइरहेका प्रहारहरू पार्टीका राम्रा नीतिहरूका कारण भएका बताए । ’हाम्रा गलत नीतिका कारण हामीमाथि आक्रमण भएको होइन’, उनले भने, ‘हामी अहिले प्रहारको निशाना भएका छौँ, तर देशविरोधी नीति अंगालेर होइन। हाम्रा नीतिहरू राम्रा भएकै कारण आक्रमण भइरहेका छन् ।‘ ओलीले नेकपा (एमाले) लाई ‘कम्युनिस्ट आन्दोलनको अनवरत नेतृत्वकर्ता’ भन्दै कम्युनिस्ट आन्दोलनको मूलधार एमालेलाई नै ठहर गरे।