काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन् । मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मङ्गलबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।
मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी दिएका थिए । प्रदेश सभामा राजीनामा दिँदै उनले बैठकको सम्बोधनमा आफ्नो राजीनामाको विषयलाई अतिरञ्जित बनाउनेदेखि स्पष्टीकरण सोधेर गरेको चरित्रहत्या सम्मको चर्चा गरेका छन् ।
सिंहले आफ्नो कार्यकालमा ७१.४८ प्रतिशत खर्च गरेर मधेस प्रदेशको इतिहासमै सबै भन्दा बढी खर्चको रेकर्ड राखेको चर्चा गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको माफियातन्त्रको अन्त गर्न हरसम्भव पहल गरेको बताए ।