काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायले गोली चलाउन आदेश नदिएको बताएका छन् । कांग्रेस नेता लेखकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको बताएका हुन् ।
‘दुःखद घटना भएपछि भदौ २३ गते गृहमन्त्री पदबाट मैले राजीनामा गरेको थिए । आन्दोलनका क्रममा बल प्रयोग गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको भन्ने विषय उठेका छन्,’ लेखकले भने, ‘यसमा प्रधानमन्त्रीज्यू र मबाट गोली प्रहारको कुनै आदेश भएको छैन ।’ उनले मुलुकको संविधान र कानुन बमोजिम आ–आफ्नो काम सबैले गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई जोगाउनुपर्ने बताए ।
जेनजी आन्दोलनका क्रममा घुसपैठ भएर अप्रत्याशित घटना भएका बताए । ‘जेनजीहरूले राम्रा माग राखेर आन्दोलन गर्नुभएको थियो । तर, घुसपैठ भएर अप्रत्याशित घटना भए । नहुनुपर्ने घटना भए,’ लेखकले भने । उनले देश कानुन र संविधान बमोजिम चल्नुपर्ने बताए । लोकतान्त्रिक पद्धतिको रक्षाका निमित्त सहकार्य, संवाद र सहमतिबाट जेनजीका मागलाई समेटेर अगाडि बढ्नुपर्ने बताए ।