काठमाडौँ । जेनजी आन्दोलनको एक महिना पूरा भएको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार एक भिडियो सन्देश जारी गर्दै सबैलाई संयम रहन र हिंसाको चक्र रोक्न अपिल गरेकी छन्।
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा धेरै युवा शहीद भएको र सयौं व्यक्ति घाइते भएकोमा गहिरो दुःख व्यक्त गर्दै शहीद परिवार र घाइतेप्रति समवेदना प्रकट गरिन्। उनले भनिन्, “यो घटना अत्यन्त पीडादायी क्षणको रूपमा सधैं रहनेछ। युवाहरूले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसात् गर्न जरुरी छ।”
उनले क्रान्ति पछाडिका कारणहरूलाई गम्भीरताका साथ लिनुपर्ने बताउँदै युवा पुस्ताको बलिदानपछि देशमा राजनीतिक, आर्थिक सुधार र न्यायको तीव्र चाहना रहेको उल्लेख गरिन्। भ्रष्टाचार र बेथिति उन्मूलनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री कार्कीले युवाहरूको परिवर्तनको आकांक्षा सरकारका प्राथमिकतामा रहेको स्पष्ट पारिन्।
विगतका सरकारहरूले युवाहरूको आवाज नबुझेको स्वीकार गर्दै उनले सबैलाई आफ्ना कमजोरी र गल्तीहरू विनम्रतापूर्वक स्वीकार गर्न आग्रह गरिन्। “युवा पुस्ताले चाहेको परिवर्तनप्रति वर्तमान सरकार प्रतिबद्ध छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर रहनुपर्छ।”
आन्दोलनका क्रममा पीडित परिवारलाई राहत र घाइतेहरूको उपचारका लागि विशेष कार्यक्रम अघि सारिएको जानकारी दिँदै उनले उनीहरूको दीर्घकालीन हितका लागि नयाँ संयन्त्रहरू निर्माण हुँदै गरेको बताइन्। साथै, भ्रष्टाचार, बेरोजगारी र विभेदजस्ता समस्याको समाधानका लागि राजनीतिक र प्रशासनिक सुधारका कदम चालिने प्रतिबद्धता व्यक्त गरिन्।