काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोको जोखिम कायमै रहेकाले अहिले यातायात खुलाउन नमिल्ने स्पष्ट पारेको छ । कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले अहिले पनि नेपालको पूर्वी क्षेत्रमा जोखिम कायमै रहेको र सडकहरुको अवस्था कमजोर रहेकाले यातायात खुलाउन नमिल्ने बताएका हुन् ।
“मधेस प्रदेश र वाग्मतीमा नभएर पूर्वतिर मनसुन सक्रिय भएको छ,” उनले भने, “यातायात बन्द नै राखेका छौँ । पूर्वमा सीडीओलाई फोन गरेर यातायात बन्द गर्न भनेका छौँ । क्षतिप्रति दुःख व्यक्त गर्दछौँ । अझै विपदको जोखिम घटेको छैन । माथिल्लो क्षेत्रमा जोखिम कायमै छ । कोसीका सबै सानातिना खोल्साहरुमा जल सतह बढ्ने अवस्था छ । लामो समयदेखि तयारी गरेका थियौँ । हाम्रो भूगोल जटिल छ । पहिरोको जोखिम बढ्दो छ । अहिले यातायात बन्द छन् । सानासाना बाटा पनि बन्द छन् । सुरक्षित अवस्थामा गएका छैनौँ । यातायात बन्द यथावत रहेको छ ।”
उनले अब बन्द रहेका सडक र विद्यूत् आयोजनालाई पुरानै अवस्थामा ल्याउनेगरी तयारी अवस्थामा रहेको बताए । नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर पनि तयारी अवस्थामा रहेकाले समस्या देखिएका क्षेत्रमा पठाइने बताए ।