काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको तयारीमा तदारुकताका साथ जुट्न सम्बद्ध निकायलाई निर्देशन दिएकी छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सरकारको प्रमुख जिम्मेवारीका रूपमा व्याख्या गर्दै स्वच्छ, निष्पक्ष, भयरहित, विश्वसनीय, मितव्ययी र सहभागितामूलक ढंगले सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तत्काल अघि बढाउन आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सरकार आवश्यक जनशक्ति, बजेटलगायत सबै किसिमको सहयोग उपलब्ध गराउन तयार रहेको बताउँदै, निर्वाचनलाई सफल बनाउन सरकारका सबै संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध हुने विश्वास दिलाइन् ।
प्रधानमन्त्री कार्यालयका सहसचिव डा.भीष्मकुमार भूसालका अनुसार उनले निर्वाचन आयोगलाई सम्पूर्ण कार्य तदारुकताका साथ अघि बढाउन आग्रह गरेकी थिइन् ।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले मतदानका लागि आवश्यक मतपेटिका लगायतका सामग्री पर्याप्त मौज्दातमा रहेको जानकारी दिए ।
उनले अपुग सामग्री खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिइएको बताए । साथै, निर्वाचन प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत र सरोकारवालासँग निरन्तर संवाद तथा समन्वय गर्दै पर्याप्त सुरक्षा व्यवस्था मिलाइने विश्वास व्यक्त गरे ।