काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले अघि सारेको ‘मिसन ८४’ लाई निर्णायक मोडमा पुर्याउने अभियानका रूपमा अघि बढाइने बताएका छन् । उनले एमालेको नीति नै मुलुकको राष्ट्रिय नीति बन्ने दाबी गरे ।
शुक्रवार ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुरू भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरे ।
उनले भने, ‘मिसन ८४ मार्फत् निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई उठाउँछौं । हाम्रो नीति नै राष्ट्रिय नीति बनाउने हो ।’ अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन, विकास वा सांस्कृतिक प्रश्नहरूमा एमालेले लिने नीति नै अन्ततः राष्ट्रिय नीति हुने उनले बताए ।
‘अन्तर्राष्ट्रिय सम्बन्ध अथवा सुशासनसम्बन्धी प्रश्न, विकाससम्बन्धी प्रश्न, सांस्कृतिक कुराहरूमा हामीले लिने नीति नै राष्ट्रिय नीति हुनेछ,’ उनले भने । ओलीले पार्टीको आगामी यात्रामा आत्मविश्वास, अनुशासन र स्पष्ट दृष्टिकोणलाई आधार बनाउनुपर्ने आवश्यकता औंल्याए ।