काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार कांग्रेस र एमालेले नभई बिचौलियाले चलाएको आरोप लगाएका छन् । बुधाबार पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को सातौँ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले रुपमा कांग्रेस र एमालेले चलाए पनि सारमा बिचौलिया र दललाले चलाएको आरोप लगाएका हुन् ।
‘अहिले राज्य कसको हातमा छ भन्दा कहिलेकाहीँ हामी पनि कन्फ्युजन हुन्छौँ । पार्टीका नेताहरूले राज्य चलाएको जस्तो देखिन्छ । रूप हेर्दा कहिले माओवादी र कांग्रेस, कहिले माओवादी र एमाले, कहिले कांग्रेस र एमाले भनेजस्तो देखिन्छ । तर यथार्थमा राज्य पार्टीको विचारले भन्दा बिचौलिया र दलाल पूँजीपतिहरुको बलले, बिचौलियाले करोडौँ र अरबौं खर्च गरेर पार्टीका नेता खरिद गरेर चलाएको व्यवस्था हो’, उनले भने ।
आफूले यही स्थितिको विरोध, अन्त्यका लागि सुशासन र भ्रष्टाचारविरुद्ध अभियान छेडेको उनले दाबी गरे ।दलाल बिचाैलियाहरुले पैसाको बलमा सेटिङ गरेर राज्य सञ्चालन खोज्ने विरुद्ध सबै पार्टीका महिलाहरूले सडक सङ्घर्षमा उत्रिन उनले आह्वान गरे ।