काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको सात दिनको म्याद आज (बुधबार)राति १२ बजे सकिँदैछ । सूचीकरणमा नआउने सामाजिक सञ्जालको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भोलि बिहीबार छलफल गरी आवश्यक निर्णय लिने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले सूचीकरणको समय आज राति १२ बजेसम्म रहेकाले त्यसबेलासम्म पर्खिने जानकारी दिए । उनले सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई कस्तो कारबाही गर्ने भन्ने विषयमा मन्त्रालयले बिहीबार छलफल गर्ने तयारी गरेको बताए ।
यसअघि सञ्चार मन्त्रालयको प्रस्तावमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको समय दिएर सामाजिक सञ्जालहरूलाई सञ्चार मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना निकालेर सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई सात दिनको म्याद दिएको थियो ।
तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा त्यसका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय सरकारले गरेको थियो । सञ्चार मन्त्रालयका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।