काठमाडौँ । कर्मचारीहरूको अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हटेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले राष्ट्रिय सभाको विधायन समितिको मंगलबारको बैठकमा प्रतिनिधि सभाबाट पारित व्यवस्थाअनुसार नै अघि बढ्न सहमत भएको बताएकी हुन्।
उनले सोमबारको बैठकमा कर्मचारीहरूको अवकाश उमेर हद ऐन पारित भएको आर्थिक वर्षमै ५९ वर्ष बनाउनुपर्ने प्रस्ताव राखेकी थिइन्। जहाँ प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए।
त्यसपछि मन्त्री न्यौपानेले विधेयकमा आफ्नो व्यक्तिगत कुनै स्वार्थ नरहेको र सर्वसम्मत गरेर जाने परम्परा रहेको बताएकी हुन्। प्रतिनिधि सभा र विधायन समितिमा पनि ऐन पारित भएको आर्थिक वर्षमा कर्मचारीहरूको अवकाश उमेर हद ५८ वर्ष राख्ने सहमति थियो। उक्त व्यवस्था उल्टाउन मन्त्री न्यौपानेले भूमिका खेलेको भन्दै विधायन समितिमा सांसदहरूले आपत्ति जनाएका थिए। मन्त्री नै आफ्नो प्रस्तावबाट पछि हटेपछि यो आर्थिक वर्ष ५८ वर्षमै कर्मचारीहरू अवकाशमा जानेछन्।