काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दललाई दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।
आयोगले मंगलबार सूचना प्रकाशित गर्दै आगामी कात्तिक १७ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग लिन इच्छुक दलले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता निवेदन दिनुपर्ने जनाएको हो।
यसअघि मनाङको प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत पर्ने प्रदेशसभा क्षेत्र नं. २ को सिट रिक्त भएपछि उपनिर्वाचन तोकिएको हो।निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न भदौ १९ गतेदेखि २५ गतेसम्म आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।