काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज मनोनयन दर्ता गर्दैछ ।
सचिवालयका सचिव हर्कराज राईले सोमबार सभापति निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आज मनोनयन गर्ने समय तोकेका हुन् ।
समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिने कार्यतालिकामा उल्लेख छ ।मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म सचिवालयका सचिवको कार्यकक्षमा गर्न सकिने कार्यतालिकामा उल्लेख छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो तीन बजे समिति बैठक बसेर निर्वाचन गर्ने तालिका छ ।
राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भएपछि नैतिकताका आधारमा राजीनामा दिँदा खाली छ । सङ्घीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चुनिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन गरेर नयाँ सभापति चुन्न लागिएको हो । राज्य व्यवस्था तथा सुशासन समिति सभापति दलहरूबिच भागबन्डा हुँदा नेपाली कांग्रेसको भागमा परेको छ ।
