काठमाडौं । हरितालिका तीज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथको दर्शनार्थीलाई हसज होस् भनेर बिहानैबाट चारै ढोका खुला गरिएको हो। भक्तजन एवं विशेषगरी हिन्दू नारीहरुलाई सहज रुपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि पशुपतिनाथका ढोका खुला गर्ने निर्णय भएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिए।
चार ढोका खुलेपछि सेवासुविधाका लागि आवश्यकपर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुहरुको गौदान गर्ने स्थानको व्यवस्थालगायतका लागि पनि काम भएको उनको भनाइ छ।
पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइनको व्यवस्था गरिएको छ। पहिलो लाइन गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।