काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई पौने १६ करोड रुपैयाँ भ्रष्टाचार प्रकरणमा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार पौडेलको बयान र थुनछेक बहसपछि यस्तो आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २७ गते पौडेलसहित ६ जना कर्मचारी र एक आपूर्तिकर्ता कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगले तत्कालीन निर्देशक पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वलीसहित आपूर्तिकर्ता कम्पनी र यसको प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई समान १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बिगोबापत सजाय माग गरेर मुद्दा चलाएको थियो ।