काठमाडौँ । नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका प्रहरी महानिरीक्षक दीपक थापा यहि भदौ १८ मा अवकाशमा जाँदै छन् । अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक थापा ३० वर्षे सेवाअवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका हुन् ।
२०८१ चैत ४ मा ३१ औँ प्रमुख नियुक्त भएका थापा अवकाशमा जाने समय नजिकिँदा अब ३२ औँ आईजीपी को बन्ला भन्नेमा सबैको ध्यान केन्द्रित हुन थालेको छ । आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागी फारम भरेका एआईजी चन्द्रकुवेर खापुङ ३२ औँ प्रहरी महानिरीक्षकको दाबेदार छन् । अहिलेसम्म खापुङ एकल दाबेदार देखिएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका थिए । आईजीपी थापासँगै भर्ना भए पनि सो ब्याचका इन्स्पेक्टरहरूलाई तीन चरणमा नियुक्ति दिइएको थियो । पहिलो लटमा २०५१ चैत ५ मा नियुक्ति लिएका ५३ जना मध्येका वसन्त कुँवर आईजीपी भएर अवकाशमा गइसकेका छन् ।
दोस्रो लटमा नियुक्ति लिएका दीपक थापा कुँवर पछि आईजीपी भएका हुन् । थापासँगै नियुक्ति लिएका एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि भदौ १८ मा अवकाशमा जाँदै छन् । तेस्रो लटमा खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेलले नियुक्ति लिएका थिए । एआईजी आचार्य २०८१ जेठ १० मा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । प्रशासन विभागमा कार्यरत एआईजी कृष्णहरि शर्मा पोखरेल एआईजीको ५६ वर्षे उमेरहदका कारण भदौ १५ मा अवकाशमा जाँदै छन् । पोखरेलको अवकाश निश्चित भएसँगै सो लटबाट खापुङ आईजीपीको एकल प्रतिस्पर्धीको रूपमा देखिएका छन् ।
३२ औँ प्रहरी महानिरीक्षकको एकल दाबेदार खापुङ हालसम्म विवादमा परेका छैनन् । प्रहरी उपरीक्षक ९एसपी० हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका खापुङले एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरे । डीआईजीमा उनले कोशी प्रदेशको कमाण्ड गरेका थिए ।