काठमाडौँ । बागमतीका निवर्तमान मुख्यमन्त्री बहादुर सिहँ लामा पक्षधर नेताहरू असन्तुष्ट बनेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पूर्वसहमतिअनुसार निवर्तमान मुख्यमन्त्री लामा पक्षलाई नसमेटेको भन्दै उनी पक्षधर नेताहरू असन्तुष्ट बनेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार ५ जना नयाँ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पुर्णता पाएको हो ।
मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्मा ‘भाग दिन्छु’ भनेर पार्टी सभापति शेरबहादुर देउवासँग गरेको सहमति कार्यान्ययन नभएको भन्दै लामा पक्षधर नेताहरूले आक्रोश पोखेका छन् । लामाले नियुक्त गरेका तीन मन्त्रीलाई बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा पुनः समेट्ने पूर्वसहमति कार्यान्वयन नगरेको लामा पक्षधर नेताहरूको आरोप छ ।
लामालाई संसदीय दलको नेता हटाउन बानियाँले अविश्वासको मत दर्ता गरेपछि लामाले तीनजना मन्त्री नियुक्त गरेका थिए । त्यस बेला धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा नियुक्त गरी शपथ खुवाउने तयारीसमेत गरेका थिए । तर, लामा संसदीय दलको नेताबाट हटाइए । मुख्यमन्त्रीबाट राजीनामा दिनुपरेपछि मन्त्रीहरूले शपथ पनि खान पाएनन् । तीनै तीनजनालाई नयाँ मन्त्रिपरिषद्मा समेटने पूर्वसहमति तोडिएको लामा पक्षधरको आरोप छ ।
बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ मन्त्रालय छन् । जसमा सत्ता साझेदार एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ वटा मन्त्रालय परेका थिए । गत २० साउनमा मुख्यमन्त्रीमा नियुक्त बानियाँले सोही दिन एमालेका ६ र कांग्रेसका आफू पक्षधर दुईजनालाई मन्त्री नियुक्त गरेका थिए ।
५ जना कांग्रेसका मन्त्री नियुक्त गर्न बाँकी थियो । मुख्यमन्त्री बानियाँले निवर्तमान मुख्यमन्त्री लामाले नियुक्त गरेका ३ जनालाई मन्त्रिपरिषद्मा लैजानुपर्नेमा ५ जना नै आफू पक्षधरका सांसदलाई मन्त्री बनाएको भन्दै लामा पक्षधरका नेता गोविन्द लम्सालले असन्तुष्टि व्यक्त गरे । मुख्यमन्त्री बानियाँले नियुक्त गरेका ५ जना मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।