काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवा कारागारबाट ललितपुरको नक्खु कारागारमा सरुवा गर्ने निर्णय भएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले पदभार सम्हालेकै दिन शुक्रबार उक्त निर्णय गरेका हुन् ।लामिछानेले पहिल्यै अदालत र जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाएर घरपायक सरुवा माग गरेका थिए । तर, गृहमन्त्री रमेश लेखकको निर्देशनमा सरुवाको निर्णय रोकिएको भन्दै आलोचना भएको थियो ।
हालै राष्ट्रिय मानव अधिकार आयोगले प्रक्रिया पूरा भएर पनि सरुवा नगरिएको भन्दै ध्यानाकर्षण गराएपछि सरुवा प्रक्रियामा तीव्रता आएको हो।सुप्रिम सहकारी प्रकरणमा थुनामा रहेका लामिछानेको बिगो रकम यकिन नभएको भन्दै अदालतले रिहाइको माग अस्वीकार गरेको छ ।मुद्दा नटुंगिँदा उनको सांसद पद निलम्बनमै छ । उनीविरुद्ध कास्की, काठमाडौँ, चितवन र पर्सामा पनि सहकारी ठगीका मुद्दा दर्ता छन् ।