काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार बिहाँन श्रेष्ठ निवास हात्तीवनमा भेटवार्ता भएको हो ।
पूर्व उपप्रधानमन्त्रीद्वयको भेटमा वर्तमान राजनीतिक परिस्थितिको गहिरो समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ।
भेटमा यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा र समृद्ध नेपाल निर्माण गर्दै समाजवादको दिशातर्फ अघि बढ्ने कदमबारे विचार–विमर्श भएको थियो। साथै, संघर्षशील शक्तिहरूले अहिलेको चुनौतीलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको सचिवालयले जनाएको छ। आफ्ना कमजोरीबारे आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा पनि दुवै नेताबीच छलफल भएको बताइएको छ।
यसअघि श्रेष्ठले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा ९एकीकृत समाजवादी०का महासचिव घनश्याम भुषाल र वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्।