काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो रकम बराबरको धरौटी बुझाएर थुनामुक्त हुन निवेदन दिएको विषय न्याय परिषदमा छानबिनका लागि उजुरी परेको छ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा पुर्पक्षका लागि कारागारमा रहेका रविले थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा दर्ता गराएको निवेदन छानबिन र आवश्यक कारबाहीका लागि अधिवक्ता रमेशबहादुर रावलले सोमबार बिहान न्याय परिषदमा उजुरी दर्ता गराएका छन्।
रवि लामिछानेसहित २२ जनाविरुद्ध ठगी तथा संगठित अपराध मुद्दामा अदालतमा विचाराधीन रहेको अवस्थामा रविको निवेदन सन्दर्भमा जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरू समेतको नाम उल्लेख गरी विभिन्न प्रचारबाजी भएको भन्दै यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको माग परिषदमा गरिएको छ।
रविसहितको प्रतिवादीहरूले सम्भावित फैसला प्रभावित पार्न निवेदन दर्ता गरेको उजुरीकर्ता अधिवक्ता रावलले उल्लेख समेत गरेका छन्।