काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महिलाको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला’ कार्यक्रममा उनले संविधानमा नै महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने काम कांग्रेसको नेतृत्वमा भएको बताए ।
‘राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्म महिलाको उपस्थिति सुनिश्चित गर्ने संविधान कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएर कार्यान्वयनमा छ,’ सभापति देउवाले भने ।
२०१५ सालमा कांग्रेसको नेतृत्वमा बनेको सरकारले द्वारीकादेवी ठकुरानीलाई मन्त्री बनाएको पनि देउवाले बताए । समावेशिता र समानुपातिक प्रतिनिधित्वसँगै महिला प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध रहेको देउवाको भनाइ छ ।