काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।
न्युज एजेन्सी नेपालसँग काठमाडौँमा कुराकानी गर्दै महामन्त्री शर्माले नागरिकमाथि शङ्का गर्दै आँगनसम्म पुग्ने अधिकार भए पनि ओछ्यानमा नै पुगेर अनुसन्धान गर्ने अधिकार सरकारसँग नभएको टिप्पणी गरे ।उनले व्यक्तिको फोन संवाद सुन्नु, रेकर्ड गर्नु भनेको व्यक्तिको गोपनीयताको हकको सरकारले नै हनन गर्ने अवस्था भएको बताए ।
सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा सार्वजनिक भएपछि विरोध हुन थालेको छ । नागरिकलाई सुरक्षा दिन्छु भन्ने सरकारले निगरानी गर्ने र वदनियत राख्ने अवस्था बनाउनु निन्दनीय रहेको उनको तर्क छ ।
नेपालमा कानूनको दुरुपयोग र अपव्याख्या धेरै हुने हुँदा यस्ता कानुनहरू सत्ता र शक्तिमा बस्नेहरूले आफू अनुकूल प्रयोग गर्ने जोखिम रहेको महामन्त्री शर्माको भनाइ छ ।