काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यका भित्रका विभिन्न १५ वटा सडक अलपत्र पार्ने कांग्रेस नेतासमेत रहेका ठेकेदार कान्छाराम तामाङ (पूर्णबहादुर तामाङ) को कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस भएको छ।
उनका कम्पनीसँगका सबै ठेक्का सम्झौता अन्त्य गरी कालो सूचिमा राख्न सिफारिस गरिएको हो। कांग्रेसका बहालवाला सांसद तामाङ पूर्वजलस्रोत राज्यमन्त्री समेत हुन्।
कर्णालीमा उनको निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ले जिम्मा लिएका सडक वर्षौंदेखि अलपत्र अवस्थामा छन्। राजनीतिक पहुँचका आधारमा शक्ति दुरुपयोग गर्दै कान्छारामले वीरेन्द्रनगरको विभिन्न क्षेत्रका १५ वटा सडक निर्माणको काम अलपत्र छोडेका हुन्।
सोमबार उनलाई कालोसूचीमा राखिएको पत्र सार्वजनिक गर्दै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले कान्छाराम कन्स्ट्रक्सन कम्पनी मैजुबहाल–७ काठमान्डौसँगको ठेक्का सम्झौता अन्त्य गरी कम्पनीलाई कालो सूचिमा राख्न सिफारिस गरिएको जानकारी दिएको छ।