काठमाडौँ । विभिन्न सामाग्री आयात हुँदै आएको सिन्धुपाल्चोकको तातोपानीस्थित नेपाल र चीनबीचको व्यापारिक नाकाबाट हेलिकोप्टर पनि आयात गरिएको छ ।
उक्त नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपाल भित्रिएको हो । ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व असुलीसँगै प्रविधिकहरुले पूर्णरुपमा जाँच गरेपछि बिहीबार तातोपानीबाट हेलिकोप्टर काठमाडौंतर्फ पठाइएको छ ।भूकम्पपछि चीनका विभिन्न सहरबाट सामान आयात गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर उक्त हेलिकोप्टर नेपाल भित्राएको तातोपानी भन्सार कार्यालयका प्रमुख अनिरुद्र थापाले जानकारी दिए ।
नेपालको माउन्टेन हेलिकोप्टर प्रालिको सो हेलिकोप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको थियो । माउन्टेनले थप पाँचवटा चिनियाँ हेलिकोप्टर तातोपानी नाकाबाट आयात गर्न लागेको जनाएको छ । हाल सो हेलिकप्टर भन्सार प्रक्रियामा रहेको छ। प्रक्रिया पूरा भएपछि एक–दुई दिनभित्र काठमाडौँसम्म उडाएर लैजाने तयारी भइरहेको छ । हेलिकप्टरको भन्सार मूल्य करिब चार करोडभन्दा बढी छ ।