काठमाडौँ । सामाजिक सञ्जाल टिकटक प्रयोग गरी प्रतिष्ठित व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङ घर भई हाल भक्तपुरमा बस्दै आएकी ३१ वर्षीय रमा बस्नेतलाई आइतबार पक्राउ गरेको हो ।
ब्युरोका अनुसार आरोपित बस्नेतले टिकटकमा नियमित र नियोजित रूपमा जातीय तथा साम्प्रदायिक भावना भड्काउने सामग्री पोस्ट गर्दै आएकी थिइन् । उनले विभिन्न प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषय उठान गरेर समाजमा नकारात्मक धारणा फैलाउने र चरित्र हत्या गर्ने गरेको ब्युरोको आरोप छ ।
सामाजिक सञ्जालमा भ्रामक र द्वेषपूर्ण सामग्रीबारे उजुरी परेपछि ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानका क्रममा बस्नेतको संलग्नता खुलेपछि ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको हो । प्रकाउ परेकी बस्नेतले प्रधानमन्त्री ओली विरुद्ध अनि रवि लामिछानेको पक्षमा भिडिओ बनाउदै आइरहेकी थिईन् ।