वीरगंज । तराई–मधेसमा केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त बनेपछि वीरगंज महानगरपालिकाका विद्यालयहरूमा थप एक हप्ताको बिदा दिइएको छ।
महाननगरपालिकाले सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो। यसअघि महानगरपालिकाले विद्यालयहरूमा जेठ २९ र ३० गते दुई दिन मात्रै गर्मी बिदा दिएको थियो।
तर गर्मी कम हुनुको सट्टा झन् बढ्दै गएपछि महानगरपालिकाले शनिबार सूचना जारी गर्दै विद्यालयहरूमा असार १ देखि ६ गतेसम्मका लागि गर्मी बिदा थप गरेको हो। पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरूमा अहिले गर्मी अत्यधिक बढिरहेको छ। यस क्षेत्रमा केही दिनयता तापक्रम बढेर अधिकतम ४१ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ।
