सप्तरी । सप्तरीमा डाँका समूहले धारिलो हतियार प्रहारगरी एक जनाको हत्या गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका ५० वर्षीय कान्तालाल चौधरीको डाँका समूहले धारिलो हतियार प्रहारगरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना गएराति १ बजे तिरको हो । ४–५ जनाको समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरूले प्रतिकार गरेका थिए । प्रतिकार गर्दा कान्तालालमाथि समूहले आक्रमण गरेको थियो । डाँका समूहले पाँच तोला सुन, दुई किलो चाँदी र ५०र६० हजार नगद समेत लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिलेसम्म घटनामा संलग्न कोही पक्राउ परेका छैनन् । घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।