चितवन । दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दैै आएको ‘चितवन मिल्क उद्योग’ले प्रशोधनका लागि दूध नपाएपछि बन्द भएको छ ।
दूध नपाएपछि गत वैशाख १० गतेदेखि उद्योग बन्द भएको हो ।उद्योगमा सहकारी संस्था र फर्महरुले बिक्री नभएको दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्ने गर्दछन् ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न सङ्घसंस्थालाई दूधका लागि आग्रह गरिएको भए पनि प्राप्त गर्न नसकिएको बताए ।
एक पटक सञ्चालन गर्नका लागि कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ । उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ । देशभरका ३० संस्थाले यहाँ प्रशोधनका लागि दूध ल्याउने गर्दछन् ।
प्रबन्धक पराजुलीले सहकारी र फर्मले दूध नल्याएपछि आफैँले दूध किनेर मेसिन सञ्चालनका लागि उद्योग चलाउने योजना भए पनि दूध पाउन नसकेको बताए ।